काबुल विष्फोटमा मर्नेको संख्या ९० पुग्यो, कसले गरेको हो आक्रमण ?

Reuters

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार भएका दुई शक्तिशाली बम विस्फोटका कारण मर्नेको संख्या ९० भन्दा माथि पुगेको छ । १५० भन्दा बढी मानिस घाइते भएका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनामा १३ जना अमेरिकी सैनिक र ३० भन्दा बढी तालिवान लडाकुको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएसँगै भएको यो सबैभन्दा ठूलो आत्मघाती हमला हो । अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा जम्मा भएको समयमा भएको यो विष्फोटका कारण बढी मानवीय क्षति भएको हो । यसअघि पश्चिमा मुलुकका सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए । त्यसको केही घण्टा भित्रै आक्रमण भएको हो ।

पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुकी ६ बजे ब्यारन होटलनजिकै र विमानस्थलको घेराबाहिर भएको थियो। बीबीसीका अनुसार होटलमा ब्रिटिश अधिकारी बसेका थिए । उनीहरुले बेलायत जान चाहने अफगान नागरिकहरूको कागजपत्र हेर्न यो होटेल प्रयोग गरेका थिए । अमेरिकी अधिकारीका अनुसार कम्तीमा एक आक्रमणकारीले विस्फोटक पदार्थ भिरेका थिए। उनले आफैलाई उडाए । आबी गेटमा अहिले अमेरिकी र ब्रिटिश सेनाको पहरा छ । आक्रमणको जिम्मा आईएसआईएस के समूहले लिएको छ।