कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

डेलावर । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिन भित्रै १० करोड नागरिकले कोरोना खोप प्राप्त गर्ने बताएका छन् । मंगलबार डेलावरमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले सो अवसरमा आफ्ना स्वास्थ्यमन्त्रीको नाम समेत सार्वजनिक गरेका थिए ।

आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ को कोर्ष चेन्ज हुने भन्दै महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चालिने बताएका छन् । यसअघि उनले सोही १ सय दिनका लागि अनिवार्य मास्क लगाउने अभियान थाल्ने जानकारी दिएका थिए ।

अमेरिकी नियामक निकायबाट फाइजर, बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि भंगलबार नै भएको छ । अब उक्त खोप आपतकालिन अवस्थामा अमेरिकाले प्रयोग गर्न सक्छ । अहिले बेलायतले आफ्ना नागरिकलाई औपचारिक रुपमा खोप वितरण शुरु गरेको छ ।

उनले बालबालिकालाई पुनः विद्यालय फर्काउनु पनि आफ्नो प्राथमिकतामा रहेको समेत जानकारी दिए । बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई नियुक्ति दिने घोषणा गरेका हुन् ।