कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

मान्मा । कालिकोटमा आइतबार गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा एकै घरका चार जनासहित १० जनाको निधन भएको हो । दुइ जना भने घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो नाग्म बजार मै पहिरो गएको थियो । पहिरोले तीन घर पुरेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाका छोराको निधन भएको छ । उता, अर्को परिवारका तीन सदस्यको ज्यान गएको छ ।

तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको समेत पहिरोमा परी ज्यान गएको प्रहरीले जानकारी दिएको छ । तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर ज्यान गएको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनको घरमा काम गर्ने २२ वर्षीय अमृत थापाको समेत पहिरोमा परी ज्यान गएको हो । मृतकको घटनास्थलमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउन लागिएको बताइएको छ । सदरमुकामसम्म शव ल्याउन सम्भव नभएपछि डाक्टरसहितको टोली घटनास्थल हिँडेका छ ।