काठमाडौं । नेपालमा कालोधनलाई लगानी खुला नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । बजेट प्रतिस्थापन विधेयकमा चैत भित्र विभिन्न १० क्षेत्रमा आउने लगानीको स्रोत नखोजिने उल्लेख छ । सो बुँदामा विवाद भएसँगै अर्थले स्पष्टीकरण दिएको हो । मन्त्रालयका अनुसार कालो धनलाई स्रोत बनाई नेपालमा लगानी गर्न दिइने छैन । सम्पती शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारवाही हुने हुँदा त्यस्ता विषयहरुमा छुट नदिइने अर्थको भनाई छ ।
त्यस्तो कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट प्रदान नहुने समेत मन्त्रालयले बताएको छ । अर्थमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कालोधन खोलिएको भन्ने बाहिरको प्रतिक्रियामा गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट आएको बजेटलाई संशोधन गर्न पेश गरेको प्रतिस्थापन विधेयकमा २०८० चैतभित्र १० क्षेत्रमा गरिएको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेका छन्।
जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासम्बन्धी उद्योग, तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उद्योगलाई समावेश गरिएको छ।