कास्की । कास्कीको नयाँ पुलमा जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।
नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् ।
यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको छ । उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।