कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते

पोखरा । कास्कीका समेत पहिरोमा परी ४ जनाको ज्यान गएको छ । मनसुनपछि बिहीबारबाट लगातार वर्षा जारी रहेको छ । यसले देशभर पहिरो र बाढी निम्याएको छ । शुक्रबार राती अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटनामा परी घाइते भएका अन्य  ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको छ ।

उता, पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यता पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ । पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ । गण्डकी प्रदेशका अन्य जिल्लामा समेत पहिरोले ठूलो मानवीय क्षति पुर्याइरहेको छ ।