पोखरा । आगामी उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की २ का लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
नेकपा कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावमा विद्या भट्टराईलाई उठाउने निर्णय गरेको हो । उनी स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेकै समयमा पाथिभरामा हेलिकोप्टर दूर्घटना हुँदा रवीन्द्रको निधन भएको थियो । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उनको मात्र नाम सिफारिस गरेको हो ।
मन्त्री अधिकारीको निधन भएपछि कास्की २ को सांसद पद खाली थियो । कास्कीका लोकप्रिय तथा विकासप्रेमी नेता अधिकारीको निधनपछि धेरैले पत्नी भट्टराईलाई राजनीतिमा आउन आग्रह गरेका थिए ।
त्यसो त पत्नी विद्याको पृष्ठभूमी पनि राजनीति नै हो । तर, श्रीमान राजनीतिमा सक्रिय भएपछि उनले आफ्नो करियर शैक्षिक पेशामार्फत अगाडी बढाएकी थिइन् ।