बैतडी । बैतडीमा १८ वर्षीया माया महताको ज्यान लिएको चितुवालाई स्थानीयले मारिदिएका छन् । सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया महतालाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न पुगेकी उनलाई चितुवाले सोमबार दिउँसो आक्रमण गरेको थियो ।
चितुवाले आक्रमण गरी उनलाई मारेपछि पनि लास छोडेको थिएन । त्यसपछि स्थानीयले घेरा हाली ढुंगामुढा र घरेलु हतियारले चितुवामाथि आक्रमण गरेका थिए । सोहीक्रममा चितुवा मरेको बताइएको छ । चितुवा मार्ने क्रममा स्थानीय मानिससमेत घाइते भएका थिए ।
मायासँगै गएका अन्य महिलाले गाउँलेलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थलमा प्रहरी पुग्नुभन्दा अगाडी नै स्थानीयले चितुवालाई मारिदिएका छन् । उक्त स्थानमा आइतबार नै डडेल्धुराको भागेश्वरका १२ वर्षीय बालकको समेत चितुवाले ज्यान लिएको थियो ।