काठमाडौं । भारतको हरिद्वारमा संचालन भएको कुम्भ मेलाका कारण ठूलो संख्यामा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै भारतको राजधानी दिल्लीको सरकारले त्यहा भाग लिएका सबैलाई १४ दिन क्वारेन्टिन राख्ने निर्णय गरेको छ । यस्तो निर्णय भएकै दिन नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति नेपाल फर्किएका छन् । उनीहरु त्रिभुवन विमानस्थल आउँदा सयौं समर्थक विमानस्थल पुगेर जयजयकार गरेका छन् । उनीहरुले भिडभाड नगर्न सरकारले गरेको आग्रहलाई पुरै वेवस्ता गरेका छन् ।
राप्रपा नेपालको नाममा समर्थकहरु विमानस्थल पुगेका हुन् । उनीहरुले ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । विभिन्न समुह पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगेका छन् । विमानस्थलमा उनीहरुको स्वागत गर्न पञ्चकन्या समेत राखिएको थियो । पूर्वराजा दम्पत्ति भने सरकारको नियम अनुसार क्यारेन्टिनमा बस्ने भएका छन् ।