काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड बजारमा फालेका छन् ।
उनले बुधबारको सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफूले राजिनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने समेत प्रस्ताव गरेका छन् । उनको यस प्रस्तावले नेकपामा भने तरंग ल्याएको छ ।
किनकी पार्टीमा अहिले दुई अध्यक्ष छन् । त्यसअवस्थामा माधव नेपाल र बामदेव गौतमलाई प्रचण्डसँग भिडाउन सके आफू बलियो हुने आंकलन प्रधानमन्त्री केपी ओलीले गरेका छन् ।
सोहीकारण उनले सांसद नै नरहेका बामदेव गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाइदिएका छन् ।
नेकपामा आन्तरिक विवाद चर्किएसँगै बुधबार सचिवालय बैठक बसेको हो । ओलीले बैठकमा आफू प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको स्पष्ट बताएका थिए ।
कोरोना पछि भने प्रधानमन्त्रीबाट राजिनामा गर्न तयार रहेको र त्यो पद बामदेवलाई दिने उनको प्रस्ताव छ ।
यसअघि बैठकमा प्रचण्डले एकताको समयमा भएको प्रतिवद्धताको भावनामाथि खेलबाड गरिएको भन्दै प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने भनाई राखेका थिए ।
प्रधानमत्रीले भने सरकार फेर्नु पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका हुन् ।
यद्दपी सचिवालय बैठकमा भने कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताएका थिए ।
अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भए पनि जनतामा आक्रोश बाँकी रहेको भन्दै पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।