केपी ओली, सूर्य थापादेखि शान्ता चौधरीसम्मलाई दाहाल-नेपाल समूहको कारबाही

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

बुधबार बसेको स्थायी कमिटीले प्रधानमन्त्री ओलीलाई हटाउँदै दलको उपनेताबाट सुवास नेम्वाङसहित ७ जनालाई ६ महिना निलम्बन गरेको हो । त्यस्तै संसदीय दलको सचेतकबाट शान्ता चौधरीलाई कारबाही गरेको छ ।

नेकपाको ओली समूहबाट संसदीय दलको प्रमुख सचेतक बनेका विशाल भट्टराई, महेश बस्‍नेत, प्रभु साह, कर्ण थापा,प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेर कारबाही गरेको छ ।

थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत हुन् । स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो।

उनीहरुलाई पार्टी अनुशासन विपरित काम गरेकोले कारबाही गरिएको दाहाल-नेपाल समूहले जनाएको छ ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गरेसँगै पुस ५ गते नै दलको नेता र पार्टी अध्यक्षबाट हटाइसकेको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड-नेपाल र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन्।