म्यासाचुसेट्स
केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८४ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको साउथ डेनिस शहरमा अवस्थित जोन ए केली पार्कको मैदानमा मे १९, २०२४ (बि. स. २०८१ जेष्ठ ६ गते) आइतबारका दिन भब्यताका साथ सम्पन्न भयो ।


केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व र United Kirat Rai Organization of America (UKROA) का भूतपूर्व अध्यक्ष,पासुंग बिष्णु राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको साकेला उभौली कार्यक्रमको सञ्चालन समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले गर्नु भएको थियो। उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर कार्यक्रममा सहभागी भैदिनुहुने अतिथिहरुको गरिमामय उपस्थितिले कार्यक्रमको रौनक र शोभा बढेको थियो।


केप कड नेपाली समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले कार्यक्रममा बिभिन्न संघ- संस्था बाट प्रतिनिधित्व गर्नु भएका अतिथिहरु, समाजका सम्पूर्ण सदस्यज्यूहरु तथा केपकड बासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र साना नानीबावुहरूलाई साकेला उभौली पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो। उहॉंले सबैलाई साकेला उभौलीको शुभकामना पनि दिनु भएको थियो ।



कार्यक्रमका प्रमुख अतिथि तथा पासुंग बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रष्ट पार्दै उपस्थित सबैलालाई उभौली को हार्दिक मंगलमय शुभकामना संदेश दिनुभयो। यसैक्रममा उहॉंले अमेरिका भरिमै नेपाली समाजले पहिलो पटक यसरी बृहत् रूपमा यहाँ बसोबास गर्नुहुने सबै नेपालीहरूलाई एकजुट गराएर साकेला उभौली कार्यक्रमको आयोजना गरेर एउटा नंया इतिहास रचेको छ भन्दै यसले आउने भावी पुस्तालाई राम्रो संदेश दिनेछ भन्दै आयोजकलाई धन्यवाद दिनुभयो। UKROA का केन्द्रीय महासचिव मुक्ति नारायण राई र पशुपति बुद्ध फाउन्डेशनकी बरिष्ठ उप सभापति एलिना श्रेष्ठ ले साकेला उभौली को बारेमा आ-आफ्नो मन्तव्य राख्नुको साथै सबैलाई शुभकामना दिनुभएको थियो।


उक्त कार्यक्रमका सांस्कृतिक संयोजक सिताराम राईले उभौली पर्वको बारेमा आफ्नो मन्तव्य राख्दै सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभएको थियो। त्यसैगरी नयॉं पुस्ताका भाईबहिनी, छोराछोरी हरूलाई लक्षित गरि साकेला उभौली पर्वको बारेमा अंग्रेजी भाषामा लेखेर तयार पारिएको सामाग्री संस्थाका कार्य समिति सदस्य कुमुदा पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो।
यस कार्यक्रमको प्रमुख आकर्षण र महत्वपूर्ण पक्ष “साकेला- उभौली पुजा” प्रमुख अतिथि तथा पासुंग बिष्णु राईज्यूबाट शुभारम्भ गरिएको थियो र यसमा केप कड नेपाली समाजका संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरि राईले उभौली पुजामा गीत गाएर नाच्दै उपस्थित सबैलाई त्यो सांस्कृतिक नाचको माहौलमा सहभागी हुन उत्प्रेरित गर्नुभएको थियो।
उभौलीको पुजा सम्पन्न गरि खानपान गरि दोस्रो चरणको कार्यक्रमको बीचमा साना नानी बावुहरूले सामूहिक रूपमा नेपाली गीतमा नाचेर र मार्सल आर्ट प्रदर्शन गरेर आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सामूहिक नृत्यमा रिया चालिसे, दिप्ती अधिकारी, आशा आचार्य र विभूती सिटौला सहभागी हुनुभएको थियो भने मार्सल आर्ट कराते तर्फ बिष्लेक्स मान प्रधान, मिलन तामाङ, विधान खड्का र आर्य थापा सहभागी हुनुभएको थियो। त्यसैगरि बाल स्वयंसेवक आभाश्री खतिवडाले कार्यक्रम स्थल मैं लेमोनेड र स्न्याक्स को पसल राखी त्यसबाट आएको सबै रकम (नगद $ १२१.८२) केप कड नेपाली समाजलाई दान गरेर सबैको लागि प्रेरणादायी काम गरि एउटा राम्रो उदाहरण प्रस्तुत गरिन्।यस्ता नेपाली मौलिक परंपरागत र सांस्कृतिक कार्यक्रमहरूमा नंया पुस्ताका नानीबावुहरूको सक्रिय सहभागिता भए मात्र संस्थाले राखेको लक्ष्य (नेपाली भाषा, संस्कृति र संस्कारको पुस्तान्तरण (linguistics and cultural transformation to new generation) मा पुग्न मदत पुग्छ । यसै कुरालाई मध्यनजर राखी कार्यक्रममा प्रतिभा प्रदर्शन गर्नुहुने सबै नानी बावुहरूलाई प्रशंसा प्रमाणपत्र प्रदान गर्नुको साथै खादा लगायर उहॉंहरुको योगदानको कदर गरिएको थियो।
त्यसैगरी, केप कड नेपाली समाजको कार्य समितिको बोर्ड बैठकको निर्णय बाट कार्य समिति सदस्यमा मनोनित छेजी शेर्पा तथा सल्लाहाकारमा मनोनित संस्थापक अध्यक्ष हरि राई लाई संस्थाका अध्यक्ष केबी राईले प्रमाणपत्र प्रदान गर्नुको साथै खादा ओडाएर स्वागत गर्नु भएको थियो ।
यस बृहत् कार्यक्रम को लागि आवश्यक खानपान को सम्पूर्ण ब्यवस्था केप कडबासी नेपालीहरूले स्वयंसेवक को रूपमा जिम्मा लिएर घर घरमै तयार पारिएका स्वास्थ्यकर साथै स्वादिष्ट परिकारहरू उपलब्ध गराउनुभएको थियो।
समाजका कोषाध्यक्ष बिमल खड्काले कार्यक्रममा सहभागी सबैको उपस्थिति दर्ता गर्नुको साथै संस्थाको सदस्यता लिन इच्छुक ब्यक्ति हरूलाई सदस्यता वितरण समेत गर्नुभएको थियो। उक्त कार्यक्रममा १७५ जना जतिको सहभागिता थियो ।
कार्यक्रमको अन्त्यमा, समाजका अध्यक्ष केबी राईले नेपालको किरांत संस्कृतिले भरिभराउ नेपाली राष्ट्रीय चाड साकेला उभौली २०२४, केप कड नेपाली समाजले पहिलो पटक आयोजना गरेको जानकारी गराउंदै यस पर्वमा आमन्त्रित सबै पाहुनाहरू, समाजका सदस्यहरु र सम्पूर्ण केप कड बासीहरूलाई उहॉंहरुले दिनुभएको अमुल्य समय, साथ र सबै खाले सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै, साकेला उभौलीको शुभकामना दिनु भएको थियो ।
केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सन् २०११ मा केप कड म्यासाचुसेट्स, अमेरिकामा स्थापना गरिएको एक गैर नाफामुलक सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।