काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ प्राविधिक टोली स्वदेश फिर्ता भएको छ । यो टोली तीन साता नेपाल बसेको थियो । टोलीले सम्भाव्यता अध्ययनका लागि भौगोलिक अवस्थिति बारे जानकारी लिएको बताइएको छ । २५ र २६ पुसका दिन टोली रसुवा पुगेको थियो । टोलीले सम्भाव्यता अध्ययन गर्ने ठाउँ हेरेको रेल विभागले जनाएको छ ।
प्राविधिक टोलीले स्थान हेरेर फर्किएपछि अब रेलमार्ग निर्माणको प्रक्रियाले गति लिएको निष्कर्ष विभागको छ । प्राविधिक टोली पुनः फागुनमा नोपल आउने बताइएको छ । रेलमार्गको सम्भाव्यता अध्ययन गर्न पुस १२ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । दुई देशबीचमा रेलमार्ग निर्माणको आर्थिक मोडालिटी अझै टुंगो लागेको छैन । सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च भने चीन सरकारले बेहोर्ने छ ।