के फुटको संघारमा पुगेको हो नेकपा ?

काठमाडौं । आइतबार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्ना निकट नेतासँग सार्वजनिक गरेको अभिव्यक्ति अनुसार नेकपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । सो भेटबारे आज प्रचण्डले नेकपाका शीर्ष नेताहरुलाई व्रिफिंग गरेका छन् ।

जसअनुसार भेटमा ओलीले अब एकै स्थानमा बसेर जान नसकिने भन्दै अलग अलग बाटो अपनाउन प्रचण्डसँग प्रस्ताव गरेका छन् । प्रचण्डको यो खुलासापछि नेकपा भित्रको विवाद पुनः उत्कर्षमा पुगेको छ । पूर्वएमाले, खासगरी ओली निकटहरुले प्रचण्डको यो खुलासालाई प्रधानमन्त्रीको सौदाबाजी भनेका छन् ।

उता, प्रचण्ड र अन्य निकट नेताहरु भने पार्टीको निर्णय अटेर गरी पटक पटक विवादित बनेका प्रधानमन्त्रीको कार्यशैलीबाट आजित भएको बताउने गरेका छन् । करिब दुई साता लामो अवधिपछि शनिबार बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको थियो ।

सोही अवसरमा ओलीले अलग अलग हिँड्न प्रस्ताव गरेका हन् । भेटमा प्रचण्डले भने सबै समस्या सचिवालय बैठक डाकेर समाधान खोज्ने प्रस्ताव गरेका थिए । ओली भने बैठक बोलाउने पक्षमा छैनन ।

आइतवार प्रचण्डनिवास खुमलटारमा वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । यसअघि आइतबार नै नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर मोडमा रहेको बताएका थिए ।

उता, लुम्बिनी प्रदेशका मूख्यमन्त्री तथा प्रधानमन्त्री ओलीका प्रियपात्र शंकर पोखरेलले जिम्मेवार स्थानमा बसेको व्यक्तिले अरुले के भन्यो भन्दा पनि आफ्नो धारणा के हो सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले समेत पार्टी फुटको संघारमा रहेको संकेत गरेका छन् ।