अर्जुन राज पन्त / टेक्सास
सम्झे आज एउटा घटना बाल्यकालमा भाको
टोलै भरका बालक मिली काँक्रो चोर्न गाको
मात्रै थियो काँक्रोमा के उसले हात लाको
“कोहो” भन्दै कोइली चरी गर्यो ठूलो डाको
सबको भयो भागाभाग काक्रो त्यहीछोडी
तर्सिएर भागी हाले चोर्न गा’का जोडी
गलत कामलाई देख्दा पनि छैनन् आज बोल्ने
न त अन्त गई कतै यस्ता कुरा खोल्ने
मतलब छैन कोही कसैको चिन्ता आफ्नै मात्र
सृष्टी भरी बढी सके यस्ता खालका पात्र
बिरोध गर्ने छैनन् कोही अपराधको झुटको
देखे पनि बोल्दैनन केही बचाउ गर्छन गुटको
दस्ता बनाई लुट्ने खेलमा पाउँदा सानो पिडो
त्यही पिडोमा मुख मिठायो चुप्प लग्यो हिडो
किरा सरी मानब जाती छन् नि जता ततै
निमुखाको घटना घटोस साक्षी छैन कतै !
जे देखेनी जे भोगेनी बोल्दैनन ती त्यहाँ
कुरो लिई हाजिर हुन्छन बरु मालिक कहाँ
हाम्रो मान्छे फस्छ त्यहाँ नबोल भन्छ मालिक
प्राण भाको जिउदो मान्छे बन्छ फेरी शालिक
खबरदारी गर्ने जिम्मा पा का पनि आज
जे देखेनी चुप लाग्छन मान्दैन केही लाज
उनैबाट आश नभएसी कता जानु अब
पखेरुमा विश्वास परी जिम्मा लाउछौ सब
“कोहो” “कोहो” भन्दै थूर्ने तेरो ठूलो डाको
तेरो छ नि दुधे दाजू यस्तै खुबी भा को
खाइस खेलिस हूर्किस बढिस काग दाजूसंग
उसको खुबी सुने कोइली त नि हुन्छस दङ्ग
निकै टाढासम्म देख्छ सबको खबर राख्छ
जस्तै आपत परे पनि ज्यानै जोगाइ भाग्छ
जस्तो सुकै ठाउँमा पनि भन्दैन त्यो जान्न
हात उठाएदेखि हाल्छ ताके भन्छ हान्न
एक अर्काको खुबी अब अंशबण्डा गर
दुधे भएनी दाजूभाई होउ नमिल्ने पो छ र ?
सक्दैनौ त्यो साट्न भने अर्को सन्धी गर
संगै बस ,संगै खेल , संगसंगै चर
जब देख्छ कागले केही गडबड हुन लाको
“कोहो” भन्दै झपार तैले गर्दे ठूलो डाको
भागे जस्तै काँक्रा चोर भाग्लान अरु पनि
तेरो आवाज सुन्दा बरु देखेछन् लौ भनि
गर्दे एति कोइली आज धन्य हुन्छस त नि
तेरो पनि पूजा होला त्यस्तै दिन गनी
काग हामी पहिलै पूज्थेउ काग तिहार भनि
एति भएसी मान्छौ हामी कोइली तिहार पनि
शोध बरु यमराजलाई ढिला गर्छै किन
हुन्छ कि नाइ दुवै पूजा गर्न एकै दिन ?
चिन्ता छैन यमपन्चक लम्बिएमा पनि
हदै भए बिदा होला कोइली तिहार भनि ॥
(ब्यंग्य कवि पन्तकाे काेइली खण्डकाब्य छिटै अाउँदैछ)