कोटेश्वरमा फ्लाइओभर र अण्डरपास बन्ने, जापानसँग ३१ अर्ब ऋण लिने तयारी

काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने तयारी अगाडी बढाएको छ र मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनिरहेको कोटेश्वर चोकको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले २०७६ मा गरेको अध्ययनका आधारमा सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने प्रक्रिया अघि बढाएको हो ।

सरकारले आर्थिक वर्ष २०७४\७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन । अब सरकारले जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी जापानसँग ऋण सम्झौता गर्नेछ । तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने र कोटेश्वर चोक छल्ने गरी त्रिभुवन विमानस्थलमुनि दुईतर्फी सुरुङ बनाउन ऋण लिन खोजिएको सडक विभागले जनाएको छ । अब मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्ने छ ।

जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बन्नेछ । यो सुरुङ विमानस्थलको रनवे–सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दामुनि खनिनेछ । सुरुङले रन–वे तर्फको भाग छुने छैन । तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ । यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइनेछ ।