काठमाडौं । यो वर्ष आयोजना गरिएको कोपा अमेरिका फुटबल अब ब्राजिलमा हुने भएको छ । ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता यसअघि अर्जेण्टिनामा हुने तय भएको थियो । कोरोना भाइरस बढ्दै गएपछि अर्जेण्टिनाबाट ब्राजिलमा प्रतियोगिता सार्ने निर्णय दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार गरेको हो ।
आगामी १३ जुन देखि १० जुलाईसम्म प्रतियोगिता चल्दैछ । सन् २०१९ मा समेत ब्राजिल मै प्रतियोगिता आयोजना भएको थियो। अर्जेन्टिनामा हाल दैनिक ३४ हजार भन्दा बढीमा कोरोना पुष्टी भइरहेको छ । यसले चिन्ता बढाएको हो । यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्तरुपमा आयोजना गर्ने तय थियो। कोलम्बियामा समेत राजनीतिक आन्दोलन चर्किएको छ । प्रतियोगिताको उपाधीका लागि अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरु भिड्ने छन् ।