काठमाडौं । संयुक्त अधिराज्यमा आयोजित कोप २६ सम्मेलनमा रुस र चिनियाँ राष्ट्रपति उपस्थित भएनन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको सन्दर्भको आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडेनले जलवायु एक ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताए ।
बीबीसीका अनुसार त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको उनको आरोप छ । ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्। विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ।
सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेता उपस्थित छन्। देशहरूले सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन्। वनविनाश अन्त्य गर्ने प्रतिबद्धतामा चीन र रुस दुवैले हस्ताक्षर गरेका छन्।
बाइडनले मङ्गलवार सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपतिले कोप२६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए। क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार पुटिनले रुसले वनको संरक्षण सशक्त र जोडदार रुपमा गर्ने बताए।
अहिलेसम्मका वार्तामा चीन, रुस र साउदी अरेबियालगायतका देशले अहिलेसम्म कस्तो भूमिका खेले भन्नेबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा अमेरिकी राष्ट्रपतिले रुस र चीनबारे त्यस्तो टिप्पणी गरेका हुन्।