कोरिया जान १२ हजार युवा प्रतिक्षामा, ९६ जना जाने निश्चित

काठमाडौं । कोरोना भाइरसको महामारीपछि रोकिएको कोरिया रोजगारीका लागि करीव १२ हजार युवा प्रतिक्षामा रहेका छन् । कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यही कात्तिकबाट शुरु भएको थियो । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरिया जान पाएका थिएनन् । सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक मध्ये थप ९६ जना भने कोरिया जाने प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार अब क्रमशः प्रक्रिया पुरा गरेका नेपाली कोरिया जानेछन् । जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया पठाइएको छ । ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेटर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका हुन् ।

२०२१ का लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म सञ्चालन भएको छैन । विभागका अनुसार कोरियाले सो वर्ष पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी सिलिङ (कोटा) भने पठाएको थियो ।