काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर दर्शनमा रोक लगाएको छ । कोभिड१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले वैशाख १० देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई पुजा र दर्शनमा रोक लगाइएको जनाएको छ । बिहीबार पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै वैशाख १० गते देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको बताएको छ ।
महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको आदेश बमोजिम २०७८ साल वैशाख १० गतेबाट अर्को व्यवस्था नभएकोसम्मको लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउनेगरी व्यवस्था मिलाइएको कोषको भनाई छ ।
यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष समेत कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर विसं २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो ।