काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ ।
आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ ।
काठमाडौं छाड्नेको संख्या बढेसँगै वायुसेवा कम्पनीले भाडा बढाएका छन् । तराईका ठूला विमानस्थलमा यात्रुको चाप उत्तिकै बढेको हो ।
राजमार्गहरु व्यस्त भएका छन् । सरकारले कोरोना संक्रमणको डरले विद्यालय बन्द गरेको छ । एसइइ परीक्षासमेत स्थगित भएको छ ।
यससँगै शहर छाडेर गाउँ फर्कनेको ताँती लागेको हो । सरकारले काठमाडौंमा समेत घर भित्रै बस्न र अत्यावश्यक नपरेसम्म घर बाहिर ननिस्कन जनतालाई आह्वान गरेको छ ।
२५ जना भन्दा बढीको संख्यामा भेला नहुन समेत आग्रह गरिएको छ । ९ चैतबाट विदेशबाट आउने हवाईजहाज र १० चैतबाट लामो दूरीमा सडक यात्रा समेत गर्न नपाउने गरी प्रतिवन्ध लागिसकेको छ ।
अहिले बसपार्क र विमानस्थलमा अधिक भीड बढेको छ । यी स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आह्वान गरिएको छ ।