कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक

काठमाडौं ।  ओमिक्रोनको त्रासबीच फ्रान्समा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।

ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्।

डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो ।

यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्।

वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।

यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्।

फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ।

बी.१.६४०.२ स्वरूप फ्रान्स बाहेक अन्य कुनै पनि देशमा फेला परेको छैन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसमा अनुसन्धान शुरु गरेको छैन।

यसैबीच भाइरस विशेषज्ञ एरिक फिगल दिङलेले नयाँ स्वरूप आएको जानकारी दिँदै यो कुन श्रेणीमा पर्छ‚ त्यो भन्न केही समय कुर्नुपर्ने बताए।