काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले विभिन्न उपायबाट भइरहेको छ । यसै क्रममा बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । भारतबाट जहाजमा पहिलो पटक नेपालीको उद्दार भएको हो । यसअघि भारतबाट स्थलमार्ग हुँदै आएका नेपालीलाई मात्र घर पठाइएको थियो ।
बुधबार नेपाल एयरलाइन्सले बैलौंर आसपासमा रहेका ८० जना नेपाली विद्यार्थीलाई काठमाडौं ल्याएको हो । नेपाल एयरलाइन्सको यो जहाज काठमाडौंबाट एक जना यात्रु बोकेर बैंलोर उडेको थियो । यसबाहेक बुधबार मलेसिया एयलाइन्सको जहाज क्वालालाम्पुरबाट ५१ जना यात्रु बोकेर काठमाडौं आएको छ । यो जहाजले ४४ जनालाई मलेसिया लगेको छ ।
हिमालय एयरलाइन्सको जहाजले सिंगापुर र क्वालालाम्पुरबाट १५४ जनालाई नेपाल ल्याएको छ । शान्ति सेना लगेर सुडान गएको नेपाल एयरलाइन्सको जहाजले २ सय ५० जना सैनिक जवान र अधिकृतलाई लिएर आजै काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।
उता, बिहीबार कोरियाबाट कोरियन एयर काठमाडौं आउँदैछ । हङकङबाट क्याथे ड्रागन र इनचानबाट एसियाना एयरको जहाज काठमाडौं आउने कार्यक्रम रहेको छ । बिहीबार हिमालय एयरलाइन्सको एक जहाज कुनमिङ र दुई जहाज कुवेत जाने कार्यक्रम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।