कोरोनाबाट ज्यान गएकी महिलाको शिशु र परिवारमा कोरोना नेगेटिभ

काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुमा कोरोना नेगेटिभ आएको छ । उनीहसँगै महिलाका श्रीमान र अन्य परिवारमा समेत कोरोना नेगेटिभ आएको हो । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने भएको छ । सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोरोनाबाट ज्यान जाने पहिलो बिरामी हुन् ।