कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । बाँके, दाङ र रूपन्देहीका एक एक जनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी १३ असोजमा कोहलपुर मेडिकल कलेज भर्ना हुन् । उनलाई शुक्रबार राति १० मात्र भेरी अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्‍याइएको १ घण्टामा उनको निधन भएको हो ।

उता, दाङको घोराही उपमहानगरपालिका ३ का १५ वर्षीय किशोरको समेत उपचारका क्रममा ज्यान गएको छ । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति नौ बजेतिर मृत्यु भएको छ ।

यता, रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको समेत कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय नाघिसकेको छ । संक्रमित भने १ लाख भन्दा माथि पुगेको छ । संक्रमितको सूचिमा नेपाल विश्वका धेरै देशभन्दा अगाडी पुगिसकेको छ ।