कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

AP Photo

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए ।

अमेरिकी संचारमाध्यमहरुका अनुसार उनले फेसबुक सहितका सामाजिक संजालमाथि निसाना साँधेका छन् । खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलिरहेको बारे पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले शुक्रबार यस्तो दावि गरेका हुन् । ह्वाइट हाउसको चिन्ता मिथ्या सूचना नियन्त्रणमा सामाजिक संजालको ससहयोगप्रति रहेको उनको भनाई छ ।

अमेरिकामा भने अब मृत्यु र सङ्क्रमण दरको जोखिम कोरोना भाइरसका सुरक्षा विधि नअपनाएका मानिसमा मात्र रहेको सरकारी अधिकारीहरुको भनाई छ । अमेरिकामा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने भनिएको छ । तर, बजारमा भिड बढ्दा जोखिम समेत उत्तिकै बढ्ने चिन्ता अधिकारीहरुमा छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले समेत फेसबुक र अन्य माध्यमलाई खोपबारे मिथ्या सूचना नियन्त्रण गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपति र ह्वाइटहाउसको पछिल्लो भनाईबारे फेसबुकले भने स्पष्टिकरण जारी गरि १ करोड ८० लाखभन्दा बढी कोभिडसम्बन्धी मिथ्या सूचना हटाएको बताएको छ ।

अमेरिकामा ६७.९ प्रतिशतले खोपको पहिलो डोज लगाएका छन् । ५९.२ प्रतिशतले दुई डोज पुरा गरेका छन् । कतिपय मानिस भने अहिले पनि खोपमा विश्वास नभएको भन्दै लगाउन मानिरहेका छैनन् ।