काठमाडौं । कोभिड–१९ संक्रमणका कारण विश्वभर ७३ जना गैरआवासीय नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिको शनिबार सम्मको तथ्यांक अनुसार उक्त संख्यामा गैरआवासीय नेपालीको ज्यान गएको हो ।
यसरी ज्यान गुमाउनेमा सबैभन्दा बढी बेलायतमा छन् । यस मलुकको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा तीन जनाको ज्यान गएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ रहेको एनआरएनएले जनाएको छ ।
अमेरिकाको न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको ज्यान गएको छ । संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एकएक जनाको ज्यान गएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन्।
उनका अनुसार नेपाल भित्रबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त समेत भइसकेका छन् ।
मध्यपूर्वमा नेपालीहरु कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या बढेदो क्रममा देखिएको छ ।
ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन्।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।
कुन देशमा कति संक्रमण ?
स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८ र नेपालमा ५९ गैरआवासीय जनामा कोरोना देखिएको छ ।
नेपाल भित्र पनि धेरैजसो संक्रमण विदेशबाट फर्कनेहरुमा रहेको छ । साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमार र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।
एनआरएनले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ।
यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन्।