कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोनाको महामारीबाट बच्न सजगता अपनाउनु पर्ने बताएकी छिन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमै रहेको समेत उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्‍वले प्रशंसा गरिरहेको उनको दावि छ ।

सरकारले घोषणा गरेको लकडाउनमा सक्दो सहयोग गरेर सबै नेपाली जनताले घर भित्रै बस्न समेत उनले आग्रह गरेकी छिन् । सामाजिक दूरी कायम गरेरै यस रोगसँग लड्न सकिने उनको दावि थियो ।

जनताले अझै सजगता अपनाउन सके देशमा कोरोना संक्रमण फैलिएर महामारीको अवस्था आउन नसक्ने उनको भनाई छ ।

लकडाउनका कारण समस्यामा परेकालाई सरकारले राहत कार्यक्रम ल्याएको स्मरण गर्दै उनले भाइरसले विश्‍वभर नै संकट ल्याएको बताइन् ।

विभिन्‍न देशमा रहेका नेपालीहरु जहाँ जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा सुरक्षित रहेर बस्न समेत उनले सुझाव दिएकी छिन् । सबैले आफ्नो सुरक्षा र स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित रहनु अहिलेको पहिलो आवश्यकता रहेको उनको भनाई छ ।