काठमाडौं । बेलायतले संसारमै पहिलो पटक कोरोना भाइरसको खोप लगाउन थालेको हो । तर, यस मुलुकमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखा परेको छ । सोहीकारण संसारभर बेलायतबाट हुने आगमनलाई प्रतिवन्ध लगाउन शुरु भएको छ । नेपालको छिमेकी मुलुक भारतले समेत बेलायत उडान रद्द गरेको छ ।
अहिलेसम्म ४० भन्दा धेरै मुलुकले बेलायतबाट सम्बन्धित मुलुकमा हुने आगमन रोकेका छन् । बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशको लामो सूचि बनिसकेको छ । कोरोना खोप लगाइरहेको मुलुकमा अब महामारी सामान्य हुने अपेक्षा थियो । तर, नयाँ प्रकृतिको भाइरस देखा परेपछि यसले चूनौति थपिदिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन आह्वान गरेको छ । डब्ल्यूएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको समेत बताएका छन् ।
युरोपेली सङ्घले संकट समाधानमा साझा नीति बनाउन छलफल गरिरहेको जनाएको छ । बेलायतसँगै डेनमार्क, अस्ट्रेलिया, इटाली र नेदरल्यान्ड्समा पनि नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।