काठमाडौं । नेपालमा कोरोनाको परिक्षण ५२ जिल्लामा बिस्तार भएको छ । सरकारले ५२ जिल्लाबाट कोभिड–१९ को परीक्षण सुरु गरेको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण शुरु गरिएको छ ।
अहिले पीसीआरबाट देशभर ११ स्थानमा परीक्षण हुने गरेको छ । अब बाँकी २५ जिल्लामा समेत परीक्षण शुरु गर्ने तयारी सरकारको छ ।
सरकारले परिक्षणको दायरा बढाएसँगै संक्रमितको संख्यामा समेत वृद्धि भएको देखिएको छ । सोमबारसम्म कूल १४ जनाका संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार दुवै विधिबाट सोमबारसम्म कूल १० हजार ९८२ जनाको परीक्षण भएको छ ।
यसमध्ये पीसीआरबाट पाँच हजार ६९१ र र्यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार पर्सामा आइतबार संक्रमित देखिएका तीन जना व्यक्तिका आफन्त, नातेदार र नजीकका मानिसको निगरानी गर्न शुरु गरिएको छ ।
नेपालमा अहिलेसम्म कैलालीमा ६, बागलुङ्ममा २, काठमाडौँमा २, पर्सामा ३ र रौतहटमा १ जनामा संक्रमण पुष्टी भएको छ ।