काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँगै पुस महिनामा विदेशिने नेपालीको संख्यामा केही कमी आएको छ । पछिल्लो जेठयता लगातार बढिरहेको संख्या पुसमा केही कम भएको देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुसमा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पुसमा दैनिक ओसतः २ हजार २२० जना श्रमिक विदेश गएको देखिन्छ ।
मंसिरमा दैनिक औसतः करिब २ हजार ५ सय जना विदेश गएका थिए । पुसमा ६६ हजारमध्ये ३५ हजार ९९५ जनाले नयाँ श्रम स्वीकति र अन्यले पुरानो श्रम स्वीकृति नविकरण गरि विदेश गएका हुन् । मंसिरमा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।
कतार, साउदी अरेबिया र यूएई नेपालीका लागि आकर्षक मुलुक हुन् । २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली वैदेशिक रोजगारीमा उडेका थिए । जेठमा ४ हजार ८६ मात्र विदेश उडे । त्यसपछि भने संख्या बढ्न थालेको थियो । साउनदेखि मंसिरसम्म २ लाख ३० हजार जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।