न्यूयोर्क/
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा अमेरिका पहिलो स्थानमा उक्लिएको छ । इटालीलाई उछिन्दै अमेरिका मृत्यु हुनेको संख्यामा पहिलो भएको हो ।
शनिबार दिउँसोसम्म अमेरिकामा भाइरसबाट २० हजार बढिले ज्यान गुमाएका छन् । दोस्रो स्थानमा रहेको इटालीमा १९ हजार ५०० को ज्यान गएको छ । अप्रिल लागेपछि अमेरिकामा मृतकको संख्यामा अध्यधिक बृद्धि भएको हो । मार्च १ तारिखसम्म अमेरिकामा भाइरसबाट दुई जनाको मृत्यु भएको थियो । मार्च १५ मा यो संख्या ६५ थियो भने मार्चको अन्त्यमा दुई हजार हाराहारी पुगेको थियो ।
मार्च १५ सम्म पनि राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाबाट चाँडै भाइरस निर्मुल हुने दावी गरि रहेका थिए । मार्च १ मा अमेरिकामा ८९ जना संक्रमित थिए भने महिनाको अन्त्यमा एक लाख नाघेका थिए । अप्रिल लागेपछि संक्रमितको संख्या बढ्ने क्रम केही घटेपनि मृतक अत्यधिक बढेका हुन् । अप्रिल लागेपछि संक्रमित पाँच गुणाले र मृतक १० गुणाले बढेका छन् ।
मार्चको तेस्रो सातासम्म अमेरिकामा भाइरस परिक्षणले तीब्रता पाउन सकेको थिएन । सोही कारण देशभर भाइरसले विस्तारको मौका पायो । त्यसपछि जाँचलाई तीब्रता दिए पनि ठूलो मात्रामा विस्तार भइ सकेका कारण संक्रमित र मृतकको संख्या तीब्र गतिले उकालो लाग्यो । शनिबार अपरान्हसम्ममा अमेरिकामा संक्रमित पाँच लाख २० हजार नाघेका छन् । दोस्रो स्थानमा रहेको एक लाख ६० हजार एवं इटालीमा डेढ लाख बढि संक्रमित छन् । फ्रान्स र जर्मनीमा पनि संक्रमितको संख्या लाख माथि छ । विश्वभर संक्रमितको संख्या साढे १७ लाख नाघेको छ भने एक लाख सात हजार बढिले ज्यान गुमाइ सकेका छन् ।
अमेरिकामा ६० हजार बढिको ज्यान जानसक्ने जनस्वास्थ्य विज्ञहरुको अनुमान छ । सुरुमा लाख बढिको ज्यान जान्छ भनिएकोमा ६० हजारको मात्र मृत्यु हुनु आफ्नो ठूलो सफलता हुने ट्रम्पले दावी गर्दै आएका छन् । सुरुमा संक्रमण देखिकएको चीनले संक्रमित ८० हजार र मृतकको ३२ सयमा सिमित राखेको थियो । अमेरिकासँगै पहिलो संक्रमण देखिएको कोरियाले पनि भाइरस फैलन दिएन । तर, परिक्षण ढिलाइ गरेको चर्को मूल्य अमेरिका सहित पश्चिमा मुलुकहरुले तिर्नु परि रहेको छ । मार्च चौथौ साता यता अमेरिकाले परिक्षणमा केही तीब्रता दिए पनि टेक्सास लगायतका घनावस्ती भएका राज्यमा पर्याप्त जाँच पुग्न नसकेको त्यहाँका स्वास्थ्यकर्मीहरुको गुनासो छ ।