काठमाडौं\एजेन्सी । कोरोना भाइरसको उच्च संक्रमण दर र व्यापक मानवीय क्षति भोगेको ब्राजिल राजनीतिक संकटमा समेत फसेको हो । राष्ट्रपति जइर बोल्सोनारुमाथि एक पछि अर्को राजनीतिक सङ्कट थपिएका छन् । सोमवार विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएका थिए ।
मंगलबार ब्राजिलका तीन वटै तहका सेनाका प्रमुखले सामुहिक राजिनामा दिएका छन् । सेना, नौसैनिक तथा हवाई सेनाका प्रमुखले सामुहिक राजिनामा बुझाएको बीबीसीले लेखेको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको उनीहरुको आरोप छ ।
कोरोनाभाइरसले गरेको क्षति र यसको नियन्त्रणमा सरकारको उदासिनतालाई लिएर यहाँ राष्ट्रपतिमाथि आलोचना बढेको छ । राष्ट्रिपति बोल्सोनारुले कोरोना भाइरसलाई मामुली बताउने गर्थे । उनी दुई वर्षअघि सत्तामा आएका हुन् । कोरोना महामारीमा क्वारेन्टीनसम्बन्धी नियमको आलोचना गरेका उनकै कारण ब्राजिलमा मानिसहरुले अकालमा ज्यान गुमाउन परेको धेरैको धारणा छ।
उनी भने जनस्वास्थ्य सम्बन्धी नियमले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताउँदै आएका छन् । कोरोनाभाइरसका कारण उत्पन्न स्थितिबारे धेरै हल्ला भएको उनको तर्क छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ३ लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ । यो अमेरिका भन्दा दोस्रो बढी मानवीय क्षति हो । यहाँ १ करोड २५ लाखमा सङ्क्रमण पुष्टि भइसकेको छ ।