कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।

जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ। धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

सप्तरी घर भएका र राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृत्यु भएको छ।

मोरङका ५५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

कपिलबस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ। बारा कलैयाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।