काठमाडौं । कोरोना संक्रमण र यसले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको हो ।
नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
‘आज मैले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा समेत दुई मुलुकका प्रधानमन्त्रीबीच छलफल भएको छ ।
भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि समेत प्रधानमन्त्रले मोदीलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् ।
पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले कोरोनाबाट प्रभावित मुलुकका समकक्षीसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो लिइरहेका छन् ।