न्यूयोर्क
सपनाको शहर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्या बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उपचार सहयोगको लागि नेसनल गार्ड (सेना) लाई खटाउने भएका छन् । विश्वका मानिसको सपनाको शहर न्युयोर्क यति बेला कोरोनासँग लडिरहेको छ । सडकहरु सुनसान छन् । मानिसहरु बाहिर निस्कन डराउन थालेका छन् । आइतबार दिउँसोसम्म न्युयोर्क राज्यमा झन्डै १६ हजार मानिस कोरोना संक्रमित भै सकेका छन् भने ११४ जनाको मृत्यु भै सकेको छ ।
राष्ट्रपति ट्रम्पले वासिङ्टन राज्य र क्यालिफोर्नियामा पनि उपचार सहयोगको लागि सेना खटाउने भएका छन् । आईतबार साँझ भएको ह्वाईट् हाऊस कोरोना भाइरस टाक्स फोर्स ब्रिफिङमा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन । उपचार सहयोगमा सेना खटाउनुका साथै ठुलो संख्यामा मास्क, रेस्पिरेटर्स गाउन, फेस सिल्ड लगायतका चिकित्सा उपकरण र सुबिधा सम्पन्न बिरामीका बेडहरु समेत ठुलो संख्यामा यी तीन राज्यमा ४८ घण्टा भित्र पठाउने आदेश दिएको ट्रम्पले ब्रिफिङमा बताएका छन् ।
अमेरिकाको ५० वटै राज्यमा संक्रमितको संख्या बढ्दै गएको छ । अमेरिकामा आइतबारसम्म संक्रमितको संख्या ३२ हजार ३ सय ५६ पुगेको छ भने ४ सय १४ को ज्यान गई सकेको छ ।