कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण

Photo : frenchguiana.bpositivenow.com

काठमाडौं\एजेन्सी । कोलम्बियाका राष्ट्रपति इवान ड्यूक चढेको हेलिकोप्टरमा बन्दुकबाट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भेनेजुएलासँगको सीमाना नजिक उडिरहेको समयमा उनी सवार हेलिकोप्टरलाई लक्षित गरि गोली चलाइएको छ । हेलिकोप्टरमा राष्ट्रपति ड्यूकसहित रक्षामन्त्री, आन्तरिक मामला मन्त्रीसमेत सँगै थिए ।

राष्ट्रपतिका प्रवक्ताले घटनामा मानवीय क्षति भने नभएको जानकारी गराएका छन् । राष्ट्रपति इवान ड्यूकले घटनाको निन्दा गरेका छन् । उनले आफु आतंकवादी हमलाबाट नडराउने समेत प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ । कोलम्बिया यस्ता हमलाको सामना गर्न निकै शक्तिशाली रहेको उनको भनाई छ । उनले घटनाबारे जाँचको आदेश दिएको समेत बताइएको छ ।

हेलिकोप्टर जमिनभन्दा थोरै मात्र माथि थियो । सवार मानिसहरुले हेलिकोप्टरको इन्जिनमा कुनै वस्तु ठोक्किएको जस्तै महसुश गरेको समाचारमा उल्लेख छ । जुन क्षेत्रमा राष्ट्रपतिमाथि हमला भयो, त्यहाँ बामपन्थी विद्रोही समूहहरु सक्रिय रहेको बताइएको छ ।