ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले देशभरट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । यो कदम अस्वीकार्य रहेको उनको प्रतिक्रिया छ । बीबीसीका अनुसार त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।
लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ। ओटावास्थित संसद्मा बुधवार बोलेका टूडोले कोभिड नियमहरूको बचाउ गरे । अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य रहेको भन्दै उनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेको समेत बताए ।
उनले प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको समेत बताए। कोभिड लागेपछि आइसोलेसनमा बसेका उनी एक सातापछि सोमबारबाट संसद् फर्किएको समेत समाचारमा उल्लेख छ । सोमवारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्याएका छन्।