काठमाडौं । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्रायः प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार चोरी भएको बताएका छन्।
सामान बोकेको हवाई कन्टेनर उक्त दिन साँझ विमानस्थलमा आइपुगेपछि कार्गोहरू राखिने स्थलमा लगिएको बीबीसीले जनाएको छ । सोही गोदामबाटै सुन तथा बहुमूल्य वस्तुहरू चोरिएको हुनसक्ने प्रहरीको अनुमान छ। यो चोरी क्यानडाको इतिहासकै सबैभन्दा ठूलो यस्तो खालको चोरी हुनसक्ने प्रहरीको भनाई छ । पीलका क्षेत्रीय प्रहरी निरीक्षक स्टीफन डाईभेस्टाइनले उक्त घटनाको यथार्थसम्म पुग्नका लागि प्रहरीले सबैखाले अनुसन्धान गरिरहेको बताएका छन् ।
उनले सोमवारको घटनालाई पृथक र दुर्लभ भनेका छन्। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हराएको विमान कन्टेनर करिब पाँच वर्गफिट आकारको थियो। त्यसमा सुनसहित अन्य बहुमूल्य वस्तु छन् । अधिकारीहरूले कुन विमान कम्पनीले उक्त कार्गो ढुवानी गरेको थियो र उसले कहाँबाट त्यसलाई ल्याएको थियो वा त्यसको गन्तव्य कहाँ थियो भनेर जानकारी दिन अस्वीकार गरेका छन्।
ती प्रहरी अधिकृतले आफूहरूको उद्देश्य चोर पत्ता लगाउनु र उक्त घटनाको कारण पत्ता लगाउनु भएको बताउँदै त्यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए। तर यात्रुहरू खतरामा नभएकाले उक्त विषयलाई सार्वजनिक सुरक्षा मामिलाका रूपमा आफूहरूले नलिएको उनको भनाइ छ।
टोरन्टो सन पत्रिकाले बिहीवार प्रहरीले सङ्गठित अपराधी समूहहरू त्यसमा संलग्न भएको शङ्का गरेको खबर प्रकाशित गरेको थियो। तर त्यसो भन्नु हतारो हुने डाईभेस्टाइनले बताए। उनले अनुसन्धानका लागि सबै पाटाहरूबारे सूक्ष्म रूपमा अध्ययन गरिरहेको जानकारी दिए। एउटा वक्तव्यमा उक्त विमानस्थलले चोरले विमानस्थलमा नै पहुँच प्राप्त नगरेको जनाएको छ।