क्यानडा र मेक्सिकन सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५–२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै ट्रम्पको आलोचना जारी छ ।

अमेरिकाको प्रतिक्रियास्वरुप क्यानडाले पनि अमेरिकी वस्तुमा ट्यारिफ लगाउने घोषणा गरेको छ । सुरुमा मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ लगाउने निर्णयबाट पछि हटेका ट्रम्पले पछि क्यानडालाई ट्यारिफ लगाउने निर्णय पनि स्थगित गरेको समाचारमा उल्लेख छ ।

ट्रम्पले ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका छन् । क्यानडाले अमेरिका प्रवेश हुने फेन्टालिन जस्ता अवैध लागूऔषध रोक्न सीमा क्षेत्र मा आवश्यक कदम उठाएपछि ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको उनले जनाएका छन् ।