क्रिकेटरमाथि क्यानको कडा कारवाहीमा प्रचण्ड र खेलकुदमन्त्री असन्तुष्ट

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित ए ग्रेडका क्रिकेटरमाथि गरेको कारवाहीपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा सोही पार्टीबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले असन्तुष्टी जनाएका छन् । प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई वालुवाटारमा भेटेरै असन्तुष्टी जनाएका हुन् ।

मन्त्री गहतराजले भने आज क्यानका पदाधिकारीलाई मन्त्रालयमै डाकेका थिए । उनले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरे । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामू चिनाउन योगदान गरेका खेलाडीलाई दुरूत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको मन्त्री गहतराजको भनाई छ । खेलाडीलाई संरक्षण गर्न समेत उनले क्यानलाई निर्देशन दिए ।

क्यान र खेलाडीबीच देखिएको समस्या समाधान गर्न उपर्युक्त विधि अपनाउनुपर्ने भन्दै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए । मन्त्री गहतराजले आगामी दिनमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

मन्त्री गहतराजले खेलाडीको वर्गिकरण प्रक्रियाका विषयमा समेत चासो राखेका छन् । मंसिर २९ मा क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । ज्ञानेन्द्रलाई कप्तानबाट बर्खास्त गरिएको छ भने उनीहरुको ६ महिनाको पारिश्रमिक समेत रोक्का हुने भएको छ ।