काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले यस्तो माग दाविसहित मुद्दा दायर गरेको हो । विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको हो ।
राजस्वले क्रिप्टोकरेन्सी कारोबारमा मुद्दा दायर गरेको यो पहिलो घटना हो । क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । त्यसैले नेपालमा यसको कारोबारमा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ अनुसार बिगो बमोजिमको जरिवाना ४१ करोड ९४ लाख रुपैयाँ र जेल सजाय मागदाबीसहित अभियोग दायर गरेको जानकारी उनले दिए ।
अभौतिक मुद्राको कारोबारबाट विदेशी विनिमयको अपचलन हुने गरेको विभागको भनाइ छ । राष्ट्र बैंकले यो कारोबारलाई २०७४ सालमै अवैध मान्दै आएको छ । त्यसैले क्रिप्टोकरेन्सीको कारोबारलाई आर्थिक अपराध मानिँदै आएको छ । शुभमकुमारले कारोबारको रकम राख्न र झिक्न रोहनको बैंक खाता प्रयोग गरेको खुलेको छ । अभियुक्तहरुले आफ्नो डिजिलट डिभाइसको तथ्यांक छोटो समयमा मेटाउन सक्ने भएकाले अन्य विषयभन्दा यो कारोबार अनुन्धानका लागि चुनौती देखिएको विभागको भनाइ रहेको छ ।