काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिएका छन् । उनले यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताए । रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेन मान्य गर्छन् ।
यद्यपि क्रेमलिनलाई यो अनियमित उद्योगलाई लिएर आशङ्का छ र नियन्त्रणलाई कडा बनाउन कानूनले संसद्मार्फत काम गरिरहेको छ । “मुलुकमा कूल विद्युत् खपतको करिब एक दशमलव पाँच प्रतिशत क्रिप्टोकरेन्सी व्यवसायद्वारा प्रयोग भइरहेको छ”, सरकारी अधिकारीहरूसँग टेलिभिजनमा भएको बैठकमा पुटिनले बुधबार भने, “र यो आँकडा लगातार बढिरहेको छ ।”
उनले क्रिप्टोकरेन्सी व्यवसायका लागि विद्युत् खपतमा अनियन्त्रित वृद्धिबाट केही क्षेत्रमा ऊर्जा घाटा निम्त्याउन सक्ने चेतावनी दिए । तीव्र क्रिप्टोकरेन्सी व्यवसायका कारण तीन साइबेरियाली क्षेत्रमा यसअघि नै विद्युत् अभाव भइसकेको उनले बताए ।
रासस