क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

ज्यूरिच । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले तिव्र फैलावट लिइरहेको समयमा क्रिसमस र न्यू इयरको रौनक समेत सँगै शुरु भएको छ । यस्तो बेला गरिने यात्रामा संक्रमण फैलावटमा सहयोग पुग्ने भन्दै जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। बीबीसीका अनुसार जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हुने सुझाव विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दिएका हुन् । केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुने उनको भनाई छ ।

उनका अनुसार ओमिक्रोन डेल्टा भेरियन्टको तुलनामा निकै तीव्र गतिमा फैलिरहेको छ । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियम लागु गर्दै कोरोना फैलिन नदिन यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ आएको हो । उता, नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियम सार्वजनिक गरेको छ। अमेरिकाले भने यस्तो प्रतिवन्धको तयारी समेत गरेको छैन ।

अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी भने दिएका छन्। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्।