काठमाडौं । सोमबार नेपाली क्रिकेट टोलीले माल्दिभ्सलाई हराउँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य पदक जित्यो । यस पटक सागमा भारत र पाकिस्तान अनुपस्थित थिए ।
श्रीलंका र बंगलादेशले यू,२३ टोली पठाएका थिए । पूर्ण टोली खेलाउने टिम नेपाल, भुटान र माल्दिभ्स थिए ।
नेपाल एकशिवसीय मान्यता प्राप्त मुलुक । स्वाभाविक रुपमा टेस्ट मुलुकले २३ वर्ष मुनीको टोली पठाउँदा नेपाल स्वर्णको दावेदार थियो ।
किनकी भूटान र माल्दिभ्स क्रिकेटमा परिचित नाम होइन । तर नेपालले प्रतियोगितामा फितलो खेल देखायो । दर्शकको मन जित्ने सकेन ।
कतिसम्म भने माल्दिभ्सले समेत नेपाललाई आच्छुआच्छु पारिदियो ।
जहाँ की नेपालको टोलीमा पारस खड्कादेखि ज्ञानेन्द्र मल्लसहितका अनुभवी खेलाडीको बाहुल्य थियो । यस पटक ब्याटिङ र बलिङ दुवैमा नेपाल फ्लप खायो ।
सोहीकारण काश्यमा उसले चित्त बुझाउन बाध्य भयो । रोचक त के छ भने नेपाली क्रिकेटले पछिल्लो दिनमा फ्यान फलोअर्स निकै बढाएको छ ।
तर, सागमा गरेको प्रदर्शनले प्रशंसकलाई निरास बनाएको छ । यसको नतिजा मैदानमा पनि देखियो । सागमा काश्यका लागि भएको खेलमा तोकिएको ३ सय रुपैयाँ टिकट काटेर खेल हेर्न पुग्ने दर्शक औलामा गन्न सकिने मात्र थिए ।
कीर्तिपुर पुगेका दर्शकले पनि बरु टिकट नकाटी बाहिरै बाट हेरेर फर्किए । तर, यता विभिन्न कठिनाईबाट गुज्रिरहेको नेपाली पूटबलले पछिल्लो समय लय समातेको भान हुन्छ ।
सागमा नेपाल अपराजित छ । भारत र पाकिस्तान फूटबलमा पनि छैनन् । यसको फाइदा उठाउदै नेपाल दोस्रो पटक फाइनल खेल्दैछ ।
फूटबललाई दर्शकले कति माया गरेका छन् भन्ने प्रमाण खेलको एक दिन अगाडी नै करीव १५ हजार सीट क्षमताको रंगशाला प्रवेशको टिकट बिक्रि सकिएको छ । धेरै दर्शकले अब घरमै बसेर फूटबल हेर्नुपर्ने भएको छ ।
अर्कोतर्फ सागको फाइनलमा रगंशालाको टिकट दरसम्म १ हजार र २ हजार कायम गरिएको छ ।
मंहगो मूल्य तिरेरै भएपनि दर्शक रंगशालासम्म धाएर नेपाली फूटबललाई चियर्स गर्दा क्रिकेटका फ्यान भने निरास बनेका छन् । नेपाल र भूटानबीच मंगलबार फाइनल खेल हुँदैछ ।