काठमाडौं । प्रदेश र संघीय तहको निर्वाचनको चर्चा चल्दै गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फेरि नजिकिन थालेका छन् । लामो समयसम्म संवादहिनतामा रहेका दुई दल आइतबार साँझ संवादमा जुटेका हुन् ।
आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच झण्डै २ घण्टासम्म छलफल भएको बुझिएको छ । ओली निवास बालकोटमा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल पछि नेता श्रेष्ठ ओलीसँग छलफलका लागि पुगेका थिए । ओली र श्रेष्ठबीच भेटवार्ता हुनुपूर्व शनिबार एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुन छलफलमा जुटेका थिए ।
स्थानीय तहको निर्वाचनमा नराम्रोसँग धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा छ । पाँच दलीय गठबन्धनलाई निर्वाचनसम्म लान दिन नहुने एमालेको निष्कर्ष छ । सोही अनुसार माओवादी केन्द्रसँग छलफल बढाएको बुझिएको छ ।