खुल्यो एसईई परीक्षाको फारम

काठमाडौं । यो वर्ष एसईई दिने विद्यार्थीका लागि आजबाट परीक्षा आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि २०७७ सालमा सञ्चालन हुने एसईईको आवेदन फारम अब भर्नु पर्नेछ ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला भएको छ । बोर्डका अनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्ने भएको छ ।

आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ शूल्क तोकिएको छ । बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न समेत भनेको छ । यो वर्ष एसईई परीक्षा हलमै गर्ने तयारी छ । गत वर्ष भने आन्तरिक मूल्यांकनका आधारमा अंक दिइएको थियो ।