खुसीको खबर : नेपालकी छैठौं संक्रमित ६५ वर्षिय महिलामा कोरोना नेगेटिभ

पोखरा । बिहीबार एक खुसीको खबर सार्वजनिक भएको छ ।

धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धाले कोरोनामाथि जीत हात पारेकी छिन् ।

पहिलो र दोस्रो परीक्षण्मा कोरोना पोजेटिभ आएकोमा तेस्रो परीक्षण्बाट भने नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उनको थ्रेट स्वाब परीक्षण गरिएको थियो ।

तेस्रो परीक्षण नतिजा नेगेटिभ आएको बताइएको छ । उनी नेपालको छैटौं कोरोना संक्रमित हुन्। पाँचौ संक्रमित बागलुंगकै एक १९ वर्षिय युवतीसँगै उनी बेल्जियमबाट नेपाल आएकी थिइन् ।

युवतीसमेत सोही अस्पतालको आइसोलेसनमा उपचारार्थ छिन् । युवतीको भने चौथो पटक गरिएको परीक्षणमा पनि कोरोनाको संक्रमण पोजेटिभ नै आएको छ ।

नेगेटिभ रिपोर्ट आएकी महिलाको २४ घण्टाभित्र पुनःथ्रेट स्वाव संकलन गरी परीक्षणका लागि पठाइदैछ ।

चौथो परीक्षणमा समेत नेगेटिभ आएमा भने उनी अस्पतालबाट डिस्चार्ज हुनेछिन् । अस्पताल भर्ना भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

उनी निको भएमा त्यसले अन्य युवामा समेत उत्साह थप्नेछ । किनकी विश्भर बढी उमेरका मानिसमा कोरोनाको संक्रमण डरलाग्दो पाइएको छ ।

नेपालमा भने विदेशबाट फर्केका युवामा बढी संक्रमण छ ।