काठमाडौं । खोकनास्थित सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रको संरक्षण गर्दै काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण हुने भएको छ ।
काठमाडौंका लागि प्रस्थानविन्दु ललितपुरको खोकना हो । तर, खोकनास्थित सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ डिजाइनमा द्रुतमार्ग बन्ने भएको छ ।
यसअघिको डिजाइनमा मन्दिर र खोकनाको उर्वर जमिन मासिने भन्दै स्थानीयले विरोध जनाएका थिए । नया विस्तृत परियोजना प्रतिवेदनमा भने मन्दिर र जमिन संरक्षण गर्दै नयाँ डिजाइन तयार पारिएको हो ।
नेपाली सेनाले सार्वजनिक गरेको डिजाइन अनुसार अब खोकना, महादेवटारदेखि लेनडाँडा क्षेत्रसम्मको रेखांकन परिवर्तन गरिएको छ ।
नयाँ डिजाइन अनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गरी दु्रतमार्गको संरचना बन्ने भएको छ ।
नेपालको आर्थिक भविश्यसँग जोडिएका दुई आयोजना निजगढ विमानस्थल र द्रुतमार्ग हुन् । यी दुबै आयोजनालाई प्राथमिकता दिइएपनि विमानस्थलमा भने अपेक्षित प्रगति हुन सकेको छैन ।
द्रुतमार्गको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । यसको लम्बाई ७२.५ किलोमिटर रहेको छ । आयोजना सम्पन्न गर्न १ खर्ब ७५ अर्ब लाग्ने सेनाको भनाई छ ।
डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किमी सुरुङमार्ग हुनेछ । १०.५५ किमी पुल र ५५.५ किमी सडक हुने छ ।