काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीचमा पनि नेपालमा खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै सो जानकारी गराएको छ । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा लगाएकालाई अनअराइभल भिसा सुविधा दिने कार्य निरन्तर जारी राख्नेछ ।
विदेशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन् । उनीहरुले यात्रा अगाडी सीसीएमसीसीको अनलाइन अराभइल फारम भने भर्नुपर्नेछ ।
अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिन्छ । खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरुले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरुले अनअराइभल भिसा पाउँदैनन् । खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ ।
नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ । अध्यागमनमा एन्टिजेन सम्भव नभएमा होटेल प्रवेश गर्नु अगाडि परीक्षण गर्नुपर्छ । ५ दिन होटेल क्वारेन्टिनमा बसेका विदेशी छैटौं दिनमा कोभिड १९ परीक्षण गरी आफ्नो उद्देश्य अनुसार भ्रमणमा जान सक्नेछन् । खोपको मात्रा पुरा गरेका पर्यटकले समेत होटेलमा चेक इन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ रिजल्ट आएपछि भ्रमणमा जान सक्नेछन् ।
होटेल बाहिर रहेका पर्यटकले प्रत्येक ७२ घण्टामा एन्टिजेट परीक्षण गर्नुपर्ने भएको छ । कोभिड १९ को परीक्षण र आइसोलेसनमा लाग्ने खर्च र बीमा लगायतका अन्य खर्च विदेशी नागरिक स्वयमले बेहोर्नुपर्छ । विदेशी नागरिक नेपालमा रहँदा भने नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गर्नुपर्नेछ ।
नेपाली र गैरआवासीय नेपालीको हकमा के हुन्छ ?
खोपको मात्रा पूरा गरेको १४ दिन पुरा भएका नेपाली र गैरआवासीय नेपालीले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ प्रमाणपत्र बोकेर आएमा सहर्ज घरमा जान दिइन्छ । तर, उनीहरुमा समेत लक्षण देखिएको अवस्थामा भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ । उनीहरुले ५ दिन होम वा होटेल क्वारेन्टिनमा बस्ने गरी मात्र प्रवेश अनुमति पाउने छन् । खोपको मात्रा पुरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरि नेगेटिभ आएमा मात्र गन्तब्यमा जान दिइने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा जानु पर्नेछ । विदेशी कुटनीतिक नियोगको हकमा समेत यस्तै प्रावधान लागू हुने छ ।